नेपाली टाइम

हालै कालोपत्रे गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ

गोरखा खबर
हालै कालोपत्रे गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ । पानी पर्न थालेपछि सडक भत्किन र ग्याभिन पर्खाल पल्टिन थालेको स्थानीयबासीले गुनासो गरेका छन् ।
केहीदिनदेखिको बर्षाले सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको स्थानीय रमित ढकालले जानकारी दिए । ‘केहीदिनअघिदेखि चिरिएको थियो, हिजो भास्सियो’, उनले भने, ‘करिब सात मिटर जति भास्सिएको छ ।’ उनका अनुसार सिरानचोक गाउँपालिका ३ हर्मीभञ्ज्याङनेर राखिएको तारजालीको पर्खाल पनि पल्टिएको छ । ‘छ वटा ग्याभिन भरेको थियो । सडकबाट बगेको बर्खे भेलाले चारवटा ग्याभिन पल्टाइदिएको छ । एउटा त बगाएर तल खोलासम्म पु¥याएको छ ।’ ठेकेदारले कच्ची संरचना बनाएकाले सामान्य बर्षामा पनि पहिरिने, पल्टाउने भएको उनले बताए । ‘जग बलियो गरेर बनाएको भए यस्तो हुने थिएन । चाँडो काम सक्ने उद्देश्यले हतार ग¥यो । कच्ची बन्यो’, उनले भने ।
सडक भत्किएको बारे कार्यालयलाई जानकारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ(जिमाली)का प्रमुख रामशरण आचार्यले बताए । सो सडक निर्माण कम्पनीलाई भत्किएको खण्ड मर्मतका लागि आग्रह गरिसकिएको उनले बताए ।
भूकम्पीय आपतकालीन सहायता परियोजनाले सो सडक कालोपत्रे गरेको हो । एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले एक महिनाअघि निर्माण सम्पन्न गरेका थिए ।
#साभार दरौदी खबर