बालुवा खानी भत्किँदा एक महिलाको मृत्यु
समाचार
बझाङको वित्थडचिर गाउँपालिका–५ ओसैलमा सोमबार बालुवा खानी भत्किँदा एक महिलाको मृत्यु भएकाे छ । घटनामा तीन जना गम्भीर घाइते भएका छन् । बालुवा खानी भत्किँदा वित्थडचिर गाउँपालिका–५ ओसैलकी ३५ वर्षीय चाखुडी महरको ज्यान गएको गाँउपालिका अध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिए ।
घटनामा सोही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिए ।बझाङको वित्थडचिर गाउँपालिका-५ को स्वास्थ्य चौकीको भवनको निर्माणका लागि काम गरिरहेका उनीहरुको बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएका थिए ।
घटना लगतै स्थानीयबासीले तीन जनाको उद्धार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा मृत्यु भएकाे हाे । घाइते तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गर्ने तयारी भएको गाँउपालिकाका अध्यक्ष बोहाराले जानकारी दिए ।