अत्यधिक चिसोको कारण मनाङका सरकारी कार्यालय सुनसान
समाज
हिमाली जिल्ला मनाङका सरकारी कार्यालय सुनसान बनेको छ । हिमपात पछिको चिसोले जिल्लाका अधिकांश सरकारी कार्यालय सुनसान बनेको छ । अत्याधिक चिसो भएपछि कार्यालयका कर्मचारी समेत जिल्ला बाहिर तथा विदामा बसेका छन् ।
जिल्ला समन्वय समिति मनाङका खरिदार नारायण पन्थीका अनुुसार कार्यालयमा एकजना समेत सेवाग्राही आउँदैनन् । कार्यालय आएर बस्नुबाहेकको काम नभएको उहाँले बताउनुभयो । ‘हिमपात भइरहेको छ । चिसो अत्याधिक छ । जिल्लाका स्थानीय सबै बाहिर छन् । गाउँ वस्ती सुनसान छ’ उहाँले भन्नुभयो, ‘कार्यालयमा सेवग्राही आउँदैनन् । हामी कर्मचारी आएर बस्ने मात्र हो । घाम र आँगो तापेर बस्ने बाहेक काम भएको छैन । केही काम फोनबाटै भएको छ ।’
हिमपात अघि भने दैनिक १ जनासम्म कार्यालयमा आउने गरेको उहाँले बताउनुभयो । मनाङ जिल्ला अदालतका स्रेष्तेदार रामप्रसाद शर्माका अनुसार हिमपातपछि सेवाग्राही आउने क्रम घटेको छ । यसअघि पनि खासै मुद्दा नआउने गरेको र हिमपातपछि भने कुनै सेवाग्राही नआएको उहाँले बताउनुभयो । ‘हिमपात धेरै भयो । आउनेजाने बाटो पनि अवरुद्ध छ । बाहिर निस्कन पनि गाह्रो छ’ उहाँले भन्नुभयो, ‘हामी जसोतसो कार्यालयमा बसेका छौं । सेवाग्राही भने आउँदैनन् । कुन बेला सेवाग्राही आउला भनेर कुर्नुपर्ने बाध्यता छ ।’ उहाँका अनुसार अदालतमा यसअघि पनि सेवाग्राही आउने क्रम कमै मात्रामा थियो ।
चिसो बढेपछि कुनै पनि नागरिक अदालतसम्म आउने गरेका छैनन् । कार्यालयका तामेलदार डिट्ठा यमबहादुर आलेले हिमपातको समयमा बर्षेनी कार्यालय सुनसान बन्ने गरेको बताउनुभयो । कर्मचारी भित्रै बसेर आँगो ताप्ने गरेपनि सेवाग्राही बाटोमा थुप्रिएको हिउँमाथि हिँड्न नसक्दा र अधिकांश बाहिर गएकाले पनि कार्यालय सून्य बनेको छ । उहाँले भन्नुभयो–‘हामी १० जना कर्मचारी छौं । अधिकांश आएका छौं । कोही विदामा हुनुहुन्छ । कर्मचारी नियमित कार्यालय आएपनि सेवाग्राहीको मुख देख्न मुस्किल छ । कार्यालय कुरेर बस्ने मात्र काम भएको छ ।’
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार मङ्सिरको अन्तिम सातादेखि केही दिन विराउँदै सबैजसो ठाउँमा हिमपात भइरहेको छ । हिमपातपछिको चिसोले एक ठाउँबाट अर्को ठाउँमा जान सकिएको छैन । सवारी आवागमन ठप्प छ । सबै कार्यालय सेवाग्राहीविहिन छ । ‘हिँड्ने बाटोमा १ फीटसम्म हिउँ छ । चिसो पनि उत्तिकै छ । गाउँवस्ती खाली छ । स्थानीय सबै जिल्ला बाहिर छन्’ उहाँले भन्नुभयो, ‘हामी कर्मचारी कार्यालय खुलेर बसेका छौं । यो चिसोमा सेवाग्राही आउने कुरै भएन । दैनिक १०÷११ जनासम्म सेवाग्राही आउने कार्यालयमा एकजना आउन पनि मुस्किल छ ।’
उहाँका अनुसार जिल्लाका सरकारी कार्यालयका कर्मचारीलाई सेवाग्राही कति बेला आउला भनेर कुर्नुपर्ने बाध्यता छ । जनसंख्या कम हुँदा र भएका पनि जिल्ला बाहिर बसिदिँदा सरकारी कार्यालय सुनसान बनेको छ । केहि कार्यालयका कर्मचारी कार्यालय आएर बस्ने गरेपनि केहि कार्यालयमा भने कर्मचारी समेत आएका छैनन् । कुनै कार्यालय कार्यालय सहयोगीको भरमा समेत चल्दै आएको छ ।