नेपाली टाइम

त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लव को हातमा

खेलकुद




लमजुङको बेंसीसहरमा आयोजित २८ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लवले उचालेको छ । आइतबार सहजी खेल मैदानमा भएको फाइनल खेलमा श्री भगवती क्लव टोखा काठमाण्डौलाई शुन्यका विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणी युवा क्लबले त्रिवेणी कपकोे उपाधी चुमेको हो । प्रतियोगीताको उपाधी जितेसंगै आयोजक त्रिवेणी युवा क्लब बेंसीसहरले नगद ३ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । 
उपबिजेता श्री भगवती क्लब टोखा काठमाण्डौले १ लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको  छ । त्यस्तै सेमिफाइनलमा पुगेका सामना युवा क्लव तुरतुरे तनहुँ र समाजकल्याण युवा क्लव काठमाण्डौलाई नगद ५०÷५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको त्रिवेणी यूवा क्लवका अध्यक्ष सिजन श्रेष्ठले बताए । 
प्रतियोगितामा त्रिवेणी युवा क्लवका पासाङ लामाले सर्वोउत्कृष्ट खेलाडीको उपाधि पाए भने भोटेवडार युथ क्लवका सन्दीप राना मगरले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् ।
उनीहरुलाई नगद १५÷१५ हजार ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगीतामा श्री भगवती क्लब टोखाका अनिल तामाङ सर्वोत्कृष्ट डिफेन्डर, क्लबकै युवाराज ढकाल सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । प्रतियोगीतामा त्रिवेणी युवा क्लवका आकाश रानाभाट सर्वोत्कृष्ट गोलकिपर र श्री जङ गण फेमर प्ले टिम घोषित भए । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ को उपाधि त्रिवेणीका जाजाले पाएका छन् । उनलाई नगद, मेडल र ट्रफीले सम्मान गरियो । प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखा, मनाङ, चितवन, कास्की, काठमाडौं लगायतका स्थानबाट २० टिमले सहभागिता जनाएका थिए । 
प्रतियोगीता पुस १२ गतेबाट सहजी खेलमैदानमा भएको थियो ।