नेपाली टाइम

ब्रेकिङ न्युज

उत्तरी गोरखा मा चिसोले जन जीवन प्रभावित

स्थानिय समाचार

हिउँ परेसँगै चिसो बढेपछि गोखराको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुब्सीपााखमा निर्माणाधीन एकीकृत नमूना बस्तीको काम प्रभावित बनेको छ । अहिले पनि हिउँ परिरहेकाले काम गर्न सक्ने स्थित नभएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताउनुभयो । लाप्राक गाउँका ५ सय ७३ घर धुरी भूकम्प पीडितलाई स्थानान्तरणका लागि गुब्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घर निर्माण गरिरहेको छ । हिजो दिनभर काम भएपनि राति देखि परेको हिउँले आज काम हुन नसकेको अर्यालको भनाइ छ ।

लाप्राक वस्ती पुनर्निर्माणमा एक सय ६० नेपाली सेना सहित एनआरएनएका एक सय ३५ कामदार खटिएका छन् । आगामी बैशाख १२ गते पीडितलाई घर हस्तान्तरण गर्ने लक्ष्य अनुसार कामलाई तीब्रता दिइएको पनि उहाँले बताउनुभयो ।  हाल सम्म पाँच सय १३ घरधुरीको पहिलो तलाको काम सकिएको उहाँले बताउनुभयो । सबै घरको जग खन्ने काम भने सकिएको छ । पहिलो तलाको झ्याल ढोका राख्ने काम पनि सकेका उहाँले जानकारी दिनुभयो । एक सय २९ घरको दोस्रो तलामा एसी ब्लक लगाउने काम सकिएको छ । तीन सय ८१ घर धुरीमा ट्रस्ट राख्ने काम पनि सकिएको अर्यालले जानकारी दिनुभयो ।
लाप्राकका स्थानीयहरु भने हिउँ परेपछि खुसी भएका छन् । केही दिन अघि फासफुस हिउँ परेपनि अहिले बस्ती नै ढाकिने गरी हिउँ परिरहेको स्थानीय मारिसिं गुरुङले बताए ।  हिउँ परेपछि उब्जनी राम्रो हुने भन्दै स्थानीय उत्साहित बनेका हुन । हिउँ परेर जाडो बढेपछि स्थानीयहरु भने घर भित्रै आगो तापेर बसेको र जनजीवन प्रभावित बनेको उनले बताए । मंगलार राति देखि लगातार हिमपातका भएपछि उत्तरी गोरखाको जनजीवन प्रभावित बनेको छ ।
मनास्लु हिमाल नजिकैको सामागाउँ आसपास दुई फिट सम्म हिउँ जमेको स्थानीयहरुले बताए । उत्तरी गोरखाको धेरै जसो क्षेत्रमा हिउँले ढाकेको छ ।  हिउँ परेसँगै अत्याधि चिसो बढेको छ । चिसोका कारण अस्थायी टहरोमा बसेका भूकम्प पीडित समस्यामा परेका छन् । उत्तरमा हिउँ परेपनि तल्लो क्षेत्रमा पानी पर्दा जनजीवन कष्टकर बनेको छ ।