गोरखा परिचय
स्थानिय समाचार
‘गोरखा’को नामको सन्दर्भमा विभिन्न वंशावली र त्यसलाई उद्धरण र नक्कल गर्दै लेखिएका पुस्तकहरूमा एकनास भेटिने एउटै खाले धारणाहरूमा ‘गोरखनाथ’बाट ‘गोरखा’ नाम रहन गएको हो भन्ने पाइन्छ। गोरखामा राम शाहको समयदेखि पुस्तक, शिलालेख, देवमूर्ति लेखिन, कुँदिन थालेको देखिन्छ।
सास्ती
कहिले जुम्लाका खसहरूको रजाइँस्थल। कहिले काठमाडौंका शासकहरूको मैदान त कहिले पाल्पाली सेनहरूको। केन्द्रका शासकहरूले तोकिदिएका या तिनलाई खुसी बनाएर कजाई हात पारेका डाँडैपिच्छेका फरकफरक रैथाने रजौटा या सामन्तहरू। स्वतन्त्र मुद्रा र स्थायी सेना नभएका। राज्यको स्थिर सिमाना र स्थायित्व नभएका। राजाको नाममा बल र हूल हुनेहरूले कजाई गर्ने।
यस्तै प्रवृत्ति र छिनाझम्टीका बीच काठमाडौंबाट ९१ किमि पश्चिमको आजको गोरखा विक्रमको अठारौं शताब्दीको मध्यसम्म पनि डाँडैपिच्छे कोट र कोटैपिच्छे ‘राजा’को दुःखबाट आजित थियो। एउटालाई राजा थापेर सुतेका जनता उठ्दा अर्कैलाई राजाको पगरी चढाउन विवश हुन्थे र साँझ नपर्दै अर्कै राजाको रूपमा उपस्थित भइसक्थे। यस्तो दुःखको पोखरी आजको गोरखामा मात्रै थिएन, हरेक थुम र बस्तीहरू यस्तैखाले सास्तीको पोखरीमा प्रातः र सन्ध्या स्नानको धपेडीमा थियो।
आरम्भ
यस्तो अवस्थामा अलिक बलियो र स्थिर राज्य हुनु, राज्यको साँधसीमा तैविसेक फराकिलो र घोषित हुनु, स्थिर प्रकारको शासक हुनु आफैंमा प्रगतिशील परिघटना हुने अवस्था थियो। त्यस्तो परिवेशमा गोरखा माझकोटमा विसं १६१६ भदौ २६ गते द्रव्य शाहले विजय हासिल गरेपछिको राजनीतिक गोरेटोले फरक आकार ग्रहणमात्रै गरेन, कालान्तरमा लिगलिग हुँदै माझकोटबाट विस्तार सुरु भएको माझकोटको मुकामले सुरुमा दरौंदी, भुसुण्डी, चेपे, बूढीगण्डकी र त्रिशूली प्रस्रवण क्षेत्रका रैथाने सामन्ती इलाकालाई आफूमा समाहित र्गयो र सग्लो गोरखा राज्यको आकार ग्रहण र्गयो। त्यही गोरखा राज्यले कालान्तरमा आफूलाई विस्तारित गर्दै जाँदा परिणाममा जुन आकार ग्रहण र्गयो, त्यो आजको नेपालको रूपमा हाम्रोसामु परिचित छ। यसरी आजको नेपालको कुनै समयको मूलधुरी गोरखाको परिचय भने आजसम्म प्रस्ट हुन सकेको छैन। गोरखा नाम कसरी रह्यो भन्नेमै जति काल्पनिक कथा र त्यसमा अनेकन दैवी उपकथाहरूको संक्रमण पाइन्छ उति तथ्य र सभ्यता विकासका अनुक्रमहरूको सिलसिला भेटिँदैन।
भूगोलको नाम, त्यहाँको सभ्यता विकासमा स्वाभाविक मानवीय संघर्ष र यत्नहरूको जून भूमिका र स्थान हुन्छ भन्ने मानक बनेको छ, त्यसको ठाउँ अनेकन दैवी चमत्कार, जादुयी प्रार्दुभाव र तिनको कृपामा सभ्यता विकास भएका काल्पनिक कथाहरूले हडपेकोे छ। जब इतिहासमा स्वाभाविक मानव विकासका सिलसिला, उत्पादक शक्ति र आर्थिक परिस्थितिबीचको संघर्षको अनिवार्य परिणामबाट पैदा हुने नयाँ अवस्थाको ठाउँ चमत्कार, ईश्वर, धर्म र आस्थाले लिन्छ, त्यहाँ कुनै बहस, विमर्श र प्रश्नहरूलाई स्थान हुँदैन। किन पनि भने आस्था, धर्म, ईश्वरमाथिको बहस निषेधित छ– संसारभर नै। ‘गोरखा’ नाम प्रारम्भमा कहिलेबाट कसरी रहन गयो भन्नेमा उसै पनि प्रस्ट तथ्य पाउन सकिएको छैन। जहाँ तथ्यहरू गायब छ, स्वाभाविक रूपमा त्यहाँ कथ्यहरू दैवी अवतार धारण गरेर किंवन्दन्तीको रूपमा प्रकट हुने गर्छन्। किंवन्दन्तीको सिरानी हालेपछि प्रमाण नै त्यही हो भन्ने स्तरको बुझाइ हाम्रो राष्ट्रिय मूलशिक्षा भइदिएको छ।
बेनामी भूगोल
विक्रमको झन्डै सत्रौं शताब्दीको अन्त्यसम्म गोरखाको नाम उल्लेख भएको कागजपत्रहरू प्राप्त हुन सकेको छैन। राम शाहको समयमा लेखाइएका वंशावलीमा भने ‘गोरखा’ शब्द रुढ भएर आएको छ। यद्यपि काठमाडौं उपत्यका, खस राज्य र पाल्पा राज्यका शासकहरूले लेखे, लेखाएको विभिन्न शिलालेख, अर्जी, उर्दीपत्रहरूबाट घुमाउरो तवरले गोरखाबारे केही सूचना भने अवश्य नै मिल्छ।
मानदेवको विसं ५२२ को चाँगुको अभिलेख हुँदै द्वितीय शिवदेवको कैलाशकुट भवनबाट जारी भई गोरखाको गोरखनाथ गुफाभित्र रहेको विसं ७५५र५६ को अभिलेखले तत्कालीन गोरखा काठमाडौंको मातहत रहेछ भन्ने जनाए पनि त्यसबखत आजको गोरखा कुन नामले परिचित थियो भन्ने भने खुल्न सकेको छैन। हालको गोरखा दरबारको पूर्वपट्टि रहेको हनुमान भन्ज्याङको सरस्वतीको मूर्तिनेरको मिति नखुलेको कैलाशकुट भवनबाट जारी भएको द्वितीय जयदेवको शिलालेखले हालको गोरखा भेगका जनतालाई ‘जनपद लोकान्’ भनिएको पाइन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास, भाग १, पृ. ८)। जनलोकान् या जनपद भन्नाले सामन्ती इलाका नभई केन्द्रबाट शासित इलाका भनेर चिनिन्छ (सूचना विभाग, मेची–महाकाली, पृ. ७०)।
मानदेवको चाँगुको अभिलेखमा मानदेवले उनको पिताको निधनपछि स्वतन्त्र हुन खोजेर काठमाडौंको अधीनस्थ हुन अस्वीकार गरेका गण्डकी पारि मल्लपुरी (हालको पर्वतको मल्लाज ? ) सम्मका स्थानीय सामन्तलाई जितेर फर्किएको वर्णन परेको हुनाले काठमाडौं र गण्डकीपारिको मल्लपुरीबीचको गोरखा तत्कालीन काठमाडौं अधीनस्थ थिएछ भन्ने देखाउँछ (वज्राचार्य, धनवज्र–लिच्छविकालका अभिलेख, पृ. १३–१६) भने द्वितीय शिवदेव र जयदेवको अभिलेख गोरखामा पाइनुले त्यसबखतसम्म गोरखा काठमाडौं अधीनस्थ नै रहिरहेको देखाउँछ।
भोटको सक्यमठमा रहेको विसं १०५५ मा गण्डीगुल्म निवासी सुवर्णकार श्रीराणकले सारेको अष्टसाहस्रिका प्रज्ञापारमितामा श्री नरेन्द्रदेव भट्टारक र श्री उदयदेव भट्टारकको उभयराज्यमा सारिएको उल्लेख हुनुले तत्कालीन काठमाडौं गण्डीगुल्म अर्थात् अहिलेको गुल्मी इलाकासम्म फैलिएको देखिनाले तत्कालीन समयमा गोरखाको भूगोल काठमाडौंकै अधीनस्थ थिएछ भन्ने देखाउँछ (पूर्णिमा, अंक ३०, पृ. १३७)। भोटको ङोरमठमा रहेको लमजुङमा बस्ने गंगा राणकले विसं ११२६ मा सारेको अष्टसाहस्रिका प्रज्ञापारमितामा राजा शंकरदेवको उल्लेख भएको (पूर्णिमा, २४, पृ ४४) र विसं ११५० मा गण्डीगुल्म निवासी जीवधरसिंह कायस्थले सारेको र भोटको सक्यमठमा रहेको अष्टसाहस्रिका प्रज्ञापारमितामा ‘ श्री हर्षदेवराजे’ उल्लेख भएको (लुसियानो पेटेच–मेडिइभल हिस्ट्री अफ नेपाल, पृ. ५०) ले त्यसबखतसम्म गोरखाभन्दा निकै परको गुल्मी र लमजुङसम्म काठमाडौंको रजाइँ कायमै रहेको देखाउँछ।
सिँजाका राजा जितारी मल्ले विसं १३४४, १३४५, १३४६ मा बर्से्नि नेपाल खाल्डोमा आक्रमण गरी उत्पात मच्चाएको र उनका छोरा आदित्य मल्लले विसं १३८४ मा नेपाल खाल्डोमा हमला गर्दा पहिले नुवाकोट हमला गरेको उल्लेख हुनुले यो समयमा सिँजा र नेपाल खाल्डोको बीचमा पर्ने गोर्खा सिँजा अधीनस्थ थियो भन्ने देखिन्छ। विसं १३७८ मा आदित्य मल्लले गोर्खाको अठार सय खोलाको साम्दुको ताघवाई गुम्बामा बस्ने लामाहरूको रक्षा र मान गर्न तथा विसं १३९४ को आदित्य मल्लले ताघवाई गुम्बा र त्यहाँ बस्नेहरूको सुरक्षाका लागि आफ्ना भारदारहरूलाई आदेशपत्र लेखेबाट यसबेलासम्म पनि गोर्खा सिँजा (खस) राज्यकै अधीनमा रहेको देखिन्छ।
जितारी मल्लले खसतिर पारेको गोर्खालाई विसं १५२४ तिर यक्ष मल्ल (भक्तपुर) ले नेपाल खाल्डोको अधीनमा लगेको देखिन्छ। यक्ष मल्लपछि नेपाल खाल्डोमा मल्ल राज्य विभाजित भयो र कमजोर भयो। यही मौकामा विसं १५८१र८२ मा दुई पटकसम्म पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यकामा हमला गरी हाहाकार मच्चाएका थिए। विसं १६०३ मा समेत उनले काठमाडौंमा आक्रमण गरेको र विसं १६०५ मा काठमाडौं खाल्डोका राजाहरूले आपसमा पाल्पाली सेनहरूको हमलाको त्रास व्यक्त भएकोले कम्तीमा विसं १६०३ सम्म गोर्खा पाल्पाको अधीनमा रहेको देखिन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास, भाग १, पृ. २०,२२ )।
मुकुन्द सेनपछि उनको ठूलो राज्य टुक्रियो (फ्रान्सिस बुचनान ह्यामिल्टन–एन अकाउन्ट अफ दी किङडम अफ नेपाल, पृ. १३१)। उनका छोराहरूले आफ्नो सबै राज्य थाम्न नसकेपछि गोर्खासहितका भू–भाग सेनहरूबाट छुट्टिई स्थानीय शासकको अधिकारमा आएको देखिन्छ (पन्त, उही, पृ. २४)। पाल्पाली राज्य कमजोर भएपछि रैथाने रजौटाहरूले आफूलाई स्वतन्त्र राज्यको रूपमा व्यवहार गर्ने प्रयास सुरु गरेपछि गण्डकी प्रस्रवण क्षेत्रमा अनेकन टुक्रे राज्यहरू अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ। त्यसैक्रममा लिगलिग र माझकोटमा फरक थरका मगरहरूको राज्य चलेको र त्यसलाई द्रव्य शाहले विसं १६१५ र १६ मा क्रमशः दक्खल गरेको देखिन्छ। त्यसबखतसम्म गोरखामा लेखपढ या शिलालेख, घटनावलीहरूको टिपोटको व्यवस्थित प्रचलन नभएकैले हुन सक्छ, अहिलेसम्म द्रव्य शाहकालीन लेखोटहरू भेटिएको छैन।
अपव्याख्या
ऐतिहासिक बाबुराम आचार्य भने द्रव्य शाहले माझकोट, तल्लोकोट र उपल्लोकोट जितेपछि मात्रै त्यस स्थानमा आवाद गुल्जार गराएर बसाएको बस्तीको नाम गोरखा राखिएको उल्लेख गर्छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उनी लेख्छन्– ‘लिच्छविकालमा आवाद गुल्जार भएको बस्ती उजाड भएर केही शताब्दीपछि नाथ सम्प्रदायका योगीहरूले एक ‘नाथ’को मूर्ति बनाई शिलापत्रसमेत स्थापना गरेका थिए।…यस डाँडाका दक्षिण र उत्तर दुवैपट्टि खेत भएका र पश्चिमपट्टि दरौंदीको धनोहर ब्याँसीसमेत भएको हुनाले स्थान बहुत उपयोगी थियो। यसकारण द्रव्य शाहले त्यस डाँडामा रजस्थल बनाउने विचार गरी नयाँ बस्ती बसाए। यिनताक काली–पश्चिमका प्रदेशमा आवादी बढेर बसाईंको खोज गर्दै अनेक परिवार पूर्व्तिर लाग्दै थिए। तिनैमध्येका इश्माका नारायणदास अज्र्याल, अर्घाका सर्वेश्वर खनाल, कुमाउँका गणेश पाँडे र भगीरथ पन्थलाई द्रव्य शाहले यसै डाँडामा बसाई आफू रहने कच्ची छाना भएको पत्थरको घर बनाई त्यो ‘नाथ’को मूर्तिलाई ‘गोरखनाथ’को मूर्ति मानेर नयाँ बसाएको बस्तीको नाम पनि ‘गोर्खा’ राखे’ (पृ. ७)।
तर, आचार्यको माथिको तर्क चाहिँ किन पनि खण्डित हुन्छ भने द्रव्य शाहले नजित्दै माझकोटमा खड्का राजाको राज्य रहेको र द्रव्य शाहले लिगलिगबाट आई माझकोटमाथि हमला गर्दा १५ दिनसम्मको भीडन्तमा द्रव्य शाह विजयी हुन नसकेको उनै आचार्यले उल्लेख गरेका छन् (नेपालको संक्षिप्त वृत्तान्त, पृ. ९२)। द्रव्य शाह र गोरखाली खड्का राजाबीच १५ दिनसम्म लडाइँ चलेको अन्य वंशावली र इतिहासकारले पनि उल्लेख गरेका छन्। बालचन्द्र शर्मा लेख्छन्, ‘गोर्खाका खड्का राजाले द्रव्य शाहको वीरतापूर्वक सामना गरेकाले दुवै थरीमा १५ दिनसम्म युद्ध भयो र अन्तमा द्रव्य शाह गोरखाको घेरा उठाई लिगलिग फर्कन बाध्य हुनुर्पयो’ (नेपालको ऐतिहासिक रूपरेखा, पृ.२१०)।
पन्ध्र दिनसम्म द्रव्य शाहको फौजको डटेर सामना गर्न सक्ने खड्का राजाको फौज अवश्य सानो संख्यामा थिएन भन्ने बुझिन्छ। त्यत्रो संख्याको फौज भएका खड्का राजा एउटा झुपडी पनि नहाली, आवाद गुल्जारसमेत नगराई बसेको कुरा पत्याउन सकिन्न। अवश्य नै माझकोटको वरपर मगर र दलितहरूको उल्लेख्य आवाद थियो भन्ने देखिन्छ। बरु मगर आवादी रहेको स्थानमा द्रव्य शाहले जितेपछि मगरहरूलाई बेदखल गराई अर्याल, खनाल, पाँडे, पन्थका अलवा द्रव्य शाहका पक्षधर सल्यानका केशव बोहरा र उनलाई लिगलिग र माझकोट जिताउन फौज जुटाउने रैथाने गंगाराम राना (मगर) समेतलाई दरबार आसपास बसाएको देखिन्छ। यिनै ६ थरी परिवार द्रव्य शाहले जितेपछि एकाएक आएर बस्ती बसाएर गोरखा नाम रहेको कुरा शाह सत्ताको प्रशस्तीको स्तरबाट माथि उठ्न सक्ने अवस्थै देखिन्न।
बरु द्रव्य शाहले जित्नुअगावै मानिसहरूको बसोबास भइरहेको ठाउँको नाम अवश्य केही न केही थियो नै। त्यसको प्रस्ट प्रकाश हामीले पाउन सकेनौं भन्दैमा काल्पनिक आवाद गराएर स्थानको न्वारन गराउने कुराले इतिहासलाई काल्पनिक निबन्धको स्तरबाट माथि उठ्न दिँदैन भन्ने ख्याल राख्नु जरुरी छ। यहाँनेर कृष्णप्रसाद श्रेष्ठको स्थाननाम सन्दर्भका धारणा उदधृत गर्नु मनासिवै हुनेछ, ‘जनता जनार्दन नै स्थाननामको स्रष्टा हो। जुनसुकै भौगोलिक नाम पनि कुनै न कुनै जनजातिको रचनात्मक सिर्जनाको परिचायक हो। स्थाननामहरू विभिन्न युगमा विभिन्न जनभाषाहरूबाट प्रार्दुभाव हुन्छन्। कतिपय स्थाननामको व्युत्पत्ति सहजै पत्ता लगाउन सकिन्छ भने अधिकांश स्थाननामहरू यस्ता हुन्छन् जसलाई सहजै अथ्र्याउन सकिँदैन। …त्यो नाउँ जुन भाषामा राखिएको थियो, त्यो भाषा नै लोप भएर गइसकेको हुन्छ। कालक्रमअनुसार उच्चारण भेदले गर्दा पनि स्थाननामहरू नचिनिने किसिमबाट अपभ्रंश हुँदै जान्छन् र तिनको व्युत्पत्तिको भेउसमेत पाउन मुस्किल हुन्छ’ (स्थाननाम–कोश, पृ. घ)।
भ्रमको शृंखला
गोरखाको नामको सन्दर्भमा विभिन्न वंशावली र त्यसलाई उद्धरण र नक्कल गर्दै लेखिएका पुस्तकहरूमा एकनास भेटिने एउटै खाले धारणाहरूमा ‘गोरखनाथ’बाट ‘गोरखा’ नाम रहन गएको हो भन्ने पाइन्छ। गोरखामा राम शाहको समयदेखि पुस्तक, शिलालेख, देवमूर्ति लेखिन, कुँदिन थालेको देखिन्छ। गोरखनाथकै मूर्ति पनि पृथ्वीपति शाहको पालामा राखिएको देखिन्छ।
द्वितीय शिवदेवले राखेको शिलालेखलाई गोरखनाथको मूर्तिले च्यापेको देखिनाले शिलालेखभन्दा मूर्ति पछि राखिएको बुझ्न सकिन्छ। द्रव्य र राम शाहलाई दर्शन दिई कार्य्निर्देश गर्ने सिद्ध गोरखनाथको सपनामा भएको आज्ञाबमोजिम पृथ्वीपति शाहले गुफामा उनको प्रतीक बनाई नित्यनैमित्तिक पूजा चलाएको हो भन्ने जन श्रुतिलाई गोरखमा सत्य र तथ्य घटनाझैं भन्ने गरिन्छ (भट्टराई, लोकप्रसाद शर्मा–गोरखादरबार क्षेत्रको सांस्कृतिक पक्षःयसको उद्भव र विकास, पृ. २७)।
०००
राम शाहको पालामा चित्रविलासलाई लेख्न लगाइएको सात पद्यको ‘राजवंशावली’ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, पृ. ५७२–५७३) र सम्भवतः उनकै पालामा त्यसलाई संशोधन गरी धरणीधर शर्मा लिखित ‘गोरक्षराजवंशावली’ (योगी, उही, पृ. ५७३–५७५)ले द्रव्य शाहको वंशावली देखाउँछ। रणबहादुर शाहको समयपछि लेखाइएका विभिन्न वंशावली (गोरक्षाधीस चम्पु, गोर्खा वंशावली, भाषा वंशावली, प्रशस्ती–रत्नावली)हरूले गोर्खाको नामकरणका सन्दर्भमा गोरखाको गुफामा गोरखनाथ प्रार्दुभाव भएको र उनकै नामबाट त्यस भेगको नाम गोरखा रहन गएको उल्लेख गरेको पाइन्छ।
विदेशीहरूले पनि त्यही वंशावलीलाई साभार र त्यसको पनि उपसाभार गरेर त्यही कुरा दोर्होयाएका छन्। जर्ज वेस्टन ब्रिग्ग्स् लेख्छन्, ‘गुफा र नजिकको बजारको नाम त्यहीँ बसेका गोरखनाथको नामबाट रहन गएको पाइन्छ। चौधौं शताब्दीमा गोरखा सहरको निर्माण भएको र नामकरण भएको मानिन्छ’ (गोरखनाथ एन्ड कनफट्टा योगिज, पृ. ७९,८६)। ब्राह्मण सिद्धान्तमा अभ्यस्त भूमि गोरखनाथको नामबाट गोर्खा रहन गएको हो (भन्सिट्राट, इडेन–नोट्स अन नेपाल, पृ. ३१)। यस्ता वंशावली र पुस्तकहरूमा गोरखनाथ गोरखाको डाँडाको गुफामा उत्पत्ति भएका भन्ने कथा हालेको देखिन्छ।
०००
मानव उत्पति, विकासका आजसम्म भएका खोजहरूले मानिसको उत्पत्ति कुनै गुफाबाट भएको नपाए पनि हामीकहाँका दैवीकथाहरूमा जमिन फटाएर, गोबरबाट, पानीबाट, गुफाबाट अनेकन पात्रहरूको जन्म गराइएको पाइन्छ। आश्चर्यको कुरा त्यसरी जन्मिएका जादुयी पात्रहरूको झन्डै एक हजार वर्ष आयु पनि हामीकहाँ मात्रै पाइन्छ। गोरखनाथको समयलाई विद्वानहरूले आठौं शताब्दीदेखि बाह्रौं शताब्दीको अन्त्यको बीचभन्दा अघिपछिको हुन नसक्ने भनेर प्रमाणहरूको आधारमा विश्लेषण गरेका छन्। गोरखनाथ र मत्स्येन्द्रनाथको काठमाडौं आगमनको जन श्रुतिको समय द्वितीय नरेन्द्रदेवको राज्यकाल (हेनरी एम्ब्रेज ओल्डफिल्ड–स्केचेज फ्रम नेपाल–भाग दुई, पृ.३२६) को समयसमेत बाह्रौं शताब्दीको अन्तिमको दशक देखिएको छ।
तर, गोरखनाथको कथाको प्रभाव त्यस समयका लेखकमा कुन हदसम्म देखिन्छ भने इतिहासको उल्लेख गर्दा समेत गोरखनाथलाई सत्रौं शताब्दीको सुरुमा द्रव्य शाहलाई निर्देशन दिन र अठारौं शताब्दीको आखिरीतिर पृथ्वीनारायण शाहलाई दही छादिदिनसमेत गोरखनाथको काल्पनिक जन्म भइरहन्छ। गोरखाली शासकहरूलाई चाहिनासाथ इतिहासका कथाहरूमा हाजिरी जनाउनकै खातिर सबैभन्दा लामो समय बाँचिदिनुपर्ने दुःखबाट गोरखनाथलाई श्रापित गराएका छन् हाम्रा काल्पनिक इतिहासका स्रेस्तेदारहरूले।
निफन नाफन
गोरखनाथ समान तवरले हिन्दु, बौद्ध र मुसलमानहरूका गुरुका रूपमा दाबी गरिएका छन्। केहीले उनी झेलुमको टिलामा जन्मिएको त केहीले पञ्जाबमा जन्मिएको उल्लेख गरेको पाइन्छ भने केहीले पेसावर, रावलपिण्डीमा जन्मिएको उल्लेख गरेका छन्। रावलपिण्डीमा गोरखपुर जिल्ला पनि छ (सिंह, मोहन–गोरखनाथ एन्ड मेडिइभल हिन्दु मिस्टिसिज्म, पृ. २२)। बाह्रौं शताब्दीको अन्त्यमा (इसं ११९९) उनको निधन भएको केही अनुसन्धाताहरूले उल्लेख गरेका छन् (सिंह, उही, पृ. २१)। सम्भोग र क्रोधलाई नियन्त्रण गर्ने सक्ने उनी हिन्दुहरूमा गोरख श्रीनाथका नामले चिनिन्छन् भने त्यसअघि उनी अनङ्ग वज्रका नामले चिनिन्थे (सिंह, उही, पृ. ३)।
नाथ सम्प्रदायका नौ नाथ एवं चौरासी सिद्धमध्ये मत्स्येन्द्रनाथ र उनका चेला गोरखनाथ पहिले वज्रयानी बौद्ध साधक थिए र पछि शैव मतमा परिवर्तित भई उनीहरूले नाथ सम्प्रदाय प्रवर्तन गरेका हुन् भन्ने मानिएको छ। ….तिब्बती विद्वान लामा तारानाथले गोरखनाथको वज्रयानी नाम अनङ्गवज्र थियो भनेका छन्। हरप्रसाद शास्त्रीले गोरखनाथको वज्रयानी नाम अनङ्गवज्र नभएर रमणवज्र मानेका छन् (गुरुङ, जगमान–गण्डकी प्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा, पृ. ९०)। योगी नरहरिनाथले इतिहास प्रकाश अंक २ भाग ३ को पृष्ठ ३२ मा वज्रसिद्धि, वज्रगुरु पद्यसम्भवको मूर्तिलाई गोरक्षनाथको प्राचीन मूर्ति लेखेर पद्यसम्भवलाई गोरखनाथ मानेका छन्।
गोरखाको गोरखनाथ गुफामा स्थित द्वितीय शिवदेव र जयदेवको अभिलेखमा वज्रभैरव भट्टारकको पूजा र त्यसको लागि गुठी राखिदिएको उल्लेख छ। त्यहाँ गोरखनाथबारे कुनै उल्लेख भएको पाइन्न बरु सर्वदेवको उल्लेख पाइन्छ। गोरखाका विभिन्न भागमा प्रचलित जन श्रुतिअनुसार गोरखा पहिले ‘स्वर्ण्गिरी’का नामले चिनिन्थ्यो। मनकामनाको परम्परागत गुठी पूजा गर्ने वज्राचार्यहरूले संकल्प वाक्यमा उक्त क्षेत्रलाई ‘विशाखा प्रदेश’ भनेर पुज्ने गरेको पाइन्छ (भट्टराई, उही, पृ. २)। पंक्तिकारले गोरखाका विभिन्न स्थानबाट संकलन गरेको प्रचलित जन श्रुति अनुसार पहिले दरौंदी व्याँसी मनोहर खर्कका रूपमा परिचित थियो।
अठार सय खोलामाथिका मात्रै नभई मनौं (मनाङ)बाट समेत हिउँदको जाडो छल्न मानिसहरू गाईबस्तु, भेडा, च्याँग्रा, घोडा, बाख्रा चराउन यतैका खर्कमा ओइरिन्थे। त्यही प्राचिन खर्क रहेको स्थान पछि उच्चरण भेदले ‘गर्ख’, ‘गर्खा’ हुँदै त्यस इलाका ‘गोर्खा’को रूपमा उच्चारित हुन थालेकोमा त्यसलाई गोरक्षा अर्थात् गोरखनाथसँग जोडेर अथ्र्याउने प्रयास गरेको पाइन्छ। ‘गर्खा’ शब्द अहिले पनि इलाका जनाउन प्रयोग गरिन्छ। नभन्दै, सुदूरपश्चिमको बैतडी, दार्चुला, डँडेलधुरातिर विभिन्न इलाकाहरूलाई अहिले पनि ‘गर्खा’ नै भनिन्छ। जस्तै– मार्मागर्खा, लेकमगर्खा, स्वराडगर्खा, दुहुँगर्खा आदि ( श्रेष्ठ, उही, पृ. ट)। खर्क या गर्ख शब्दले रैथाने मगर बोलीको स्वाभाविक प्रतिनिधित्व गर्छ पनि।
थप जन श्रुतिका अनुसार, दूधपोखरीदेखि धर्मवती इलाका गौ वध निषेधित क्षेत्रका रूपमा अर्थात् गौ रक्षा स्थलका रूपमा परिचित भएको थियो र यहाँको स्थानलाई टाढाका मानिसहरू गौरक्ष स्थलका रूपमा परिचय लिनेदिने गर्थे। अनङ्गवज्रका रूपमा चिनिएका एक बौद्ध तान्त्रिक दरौंदी प्रस्रवण क्षेत्रको टाकुरामा रहेको गुफामा आई ध्यानमा बसेको र मानिसले उनलाई उक्त गुफामा बसेका कारण गौरक्षनाथ नाम दिएका थिए। त्यही गौरक्षनाथ पछि गोरक्षनाथ हुँदै गोरखनाथ भएको देखिन्छ। यसरी अनङ्गवज्र गोरक्ष क्षेत्रको गुफामा बसेकै कारण गोरक्ष नाथ भएको स्थानीय जन श्रुति पाइन्छ। गोरक्ष शब्दले गाई रक्षक र नाथ शब्दले गुरु अर्थ जनाउँछ। गोरखनाथ प्रारम्भिक समयमा वज्रयानी बौद्धमार्गी थिए। पछि उनी तिब्बतबाट मुक्तिनाथ हुँदै आएको मानिन्छ (गोरखनाथ एन्ड द कनफट्टा योगिज, पृ. २३३)।
०००
वज्रयानी बौद्धहरू महाकाललाई वज्रभैरव मान्छन्। तिब्बती लामा बौद्धहरूको गेलुकपा बौद्धहरू वज्रभैरवलाई आफ्नो इष्टदेवता मान्छन्। गोरखाको गोरखनाथ गुफा परिसरमा लिच्छविकालिक बौद्ध चैत्यका अवशेषहरू पाइएका छन् र गोरखा उपल्लोकोटमा केही ढुंगाहरू थुपारिएको ठाउँलाई वज्रभैरवको स्थान मानिन्छ र त्यहाँ गोरखनाथका पुजारी कनफट्टा योगीद्वारा पूजा गरिन्छ। वज्रगुरु पद्यसम्भवको स्तुतिमा उनले फर्पिङको ऋषितर गुफामा तपस्या गरेका उल्लेख छ। अहिले उक्त गुफालाई गोरखनाथ गुफा पनि भनिन्छ। त्यहाँ गोरखानाथको पादुका स्थापना गरिएको छ (गुरुङ, उही, पृ. ९०)।
खोटाङस्थित हलेसी गुफालाई पनि वज्रगुरु पद्यसम्भवले साधना गरेको स्थल मानिन्छ (नेपाल, ज्ञानमणि–नेपाल निरक्त, पृ. ३३५)। हलेसीमा हरिश्वर (कालान्तरमा हलेसी ?) महादेवको मन्दिर छ र हलेसी महादेवको नित्यपूजा गृहस्थ सन्न्यासी पुजारीद्वारा हुन्छ (नेपाल, उही, पृ. ३३१)। यसले वज्रयानी बौद्ध मतसँग नाथ सम्प्रदायको सम्बन्धको निरन्तरताको कसी गुजुल्टिएको देखिन्छ।
०००
विभिन्न समयमा चलेको नेपालको राष्ट्रिय छापमा गोरखनाथको चरण अंकित भएको र सिक्कामा ‘ श्री श्री श्री गोरख’ लेख्ने गरेको पाइन्छ। गोरखाली वंशावलीहरूमा गोरखनाथलाई श्री ५ लगाइएको पाइन्छ। त्यस्ता वंशावली लेख्नेबखत नेपालमा गोरखनाथी सम्प्रदायको दबदबा निकै बलियो रहेको देखिन्छ र त्यस्तो प्रभाव सत्तासीनहरूमा पनि रुढ भएको पाइन्छ। त्यस्तै वंशावलीमध्ये एकमा गोरखनाथको यसरी प्रशस्ती गरिएको छ– गोरखनाथलाई कोटि कोटि फेरा, दण्डवत् गर्दछु . तिमि ईश्वर हौै.भगवान् पनि तिमि हौ. सृष्टि गन्र्या पनि तिमि हौ…साना राजालाई समुद्रका टापु र हिन्दुस्थानभरको बादशाह तुल्याउन पनि तिमि सक्त छौ…..तिम्रा श्री नामले श्री गोर्खा कहायाको हो (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, पृ. ६७६र६७७)।
हाराहारीको समयमा गोरखा मात्रै होइन, काठमाडौं पनि नाथ सम्प्रदायको चरम प्रभावमा थियो। बीसौं शताब्दीको अन्त्यसम्म नाथहरू सबैभन्दा शक्तिशाली समुदायका रूपमा सत्तासम्म प्रभाव जमाउन सफल थिए। भारतका सारा हिन्दुस्थल र मन्दिरहरू मुसलमानी आक्रमणमा परेर ध्वस्त हुँदा र नाम परिवर्तन हुँदासमेत गोरखपुर र त्यहाँको गोरखनाथ मन्दिर आफ्नो परिचय र अस्तित्व रक्षामा सफल भएको देखिन्छ। काठमाडौंका तत्कालिक मुख्य सहरको केही मिनेटको दूरीभित्र रहेका स्थानमण्डप (बाङ्गेमूढा), असनमण्डप (असन), केलमण्डप (केलटोल), गोरखनाथ मन्दिर (इन्द्रचोक), गोरखपन्थी पाटी, मखनमण्डप (मखनटोल), काष्ठमण्डप गरी सात गोरखपन्थी मण्डप रहेको देखिन्छ (पन्त, महेशराज–जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृ. ९२र९३)। गोरखनाथका प्रभावबाट पशुपति पनि ‘नाथ’ कहलिन लागेका थिए। पशुपति महादेव मात्र होइनन्, ‘स्यंगु’ कहलाइरहेको मध्ययुगको ‘सम् ये गूं’ विहार पनि ‘स्वयम्भूनाथ’ कहलिन लागेको थियो (आचार्य, बाबुराम– श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. २८६)।
०००
कतिपयले गोरखा जिल्लामा रहेको गाईखुरबाट गोरखा नाम रहन गएको उल्लेख गरेको पाइन्छ। अहिले सामान्यत जुन स्थानलाई ‘गोर्खा’को नाममा परिचय गरिन्छ त्यो पहिले ‘गाईखुर’को रूपमा बरोडाका महाराजबाट परिचित गराइएको थियो (ल्याडन, पर्सिवल–नेपाल, भाग २, पृ. २३)। तर यो पश्चिमाहरूले नेपाली शब्द उच्चारणको सही भेउ नपाइकनै दिइएको अनुमानभन्दा माथि उठ्न सक्ने गरी प्रमाणहरू जोड्न सकेको देखिन्न।
मूलमर्म
यसरी सभ्यता र संस्कृतिमा समेत चरम प्रभाव रहेको बखत वंशावली लेख्नेहरूमा समेत गोरखनाथ सम्प्रदायको चरम प्रभाव रहेको देखिन्छ। वेद, पुराणजस्ता अति महत्त्वपूर्ण रचनाहरूमा समेत पछिल्ला समयमा लेखकहरूमा रहेको धार्मिक विश्वासअनुसार सम्पादन र उतारका क्रममा देवीदेवताका तिलस्मी कथा भरिएको पाइन्छ। सृष्टिवर्णन, सामयिक विनाश र पुनःसृष्टिको नालीवेलीसदेवता, पितृ र मनुको वंशविस्तारस मन्वन्तरका रूपमा समयचक्रको व्याख्या र विविध राजवंशका विशेष पुरुषहरूका चरित्रको लेखाजोखा प्रारम्भिक समयका पुराणहरूमा हुन्थे।
समयक्रममा विष्णु, शिव आदि देवतामा आधारित धर्मको उद्भव र विस्तार भयो। त्यसपछि पुराणमा धर्मकथा थपिँदै गए। यसरी पुराणका मूल विषयवस्तु धर्मकथाका रासमुनि ओझेल परे (आचार्य, दिवाकर–निपजन र नेपाल, पृ. ४०)। त्यस्तै धार्मिक मतको प्रभावले गोरखाको नाममा गोरखनाथलाई जोड्न खोजिए पनि गोरखनाथको नामबाट गोर्खा नाम रहेको नभई बरु खर्क, गर्ख, गर्खा या गौरक्ष भूमिबाटै गोरखनाथ नाम रहन गएको हो भन्ने देखिन्छ।
साभारः अन्नपुर्ण पोष्ट ।