गाईखुर, च्याङ्ली र धुँवाकोट बन्ने भयो ‘लिची ब्लक’
गोरखा खबर
पालुङटार नगरपालिका वडा नम्बर ६, ७ र ८ लाई लिची ब्लक एरिया बन्ने भएको छ । गण्डकी प्रदेशको कृषि जोन कार्यक्रम अन्तरगत उक्त स्थानमा लिची ब्लक एरिया स्थापना गरिने पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कँडेलले जानकारी दिए ।
नगरपालिकाका तीनवटा वडालाई लिची ब्लक एरिया बनाउनका लागि वडामा रहेका सम्पूर्ण लिची व्यावसायीहरुलाई नाम दर्ताका लागि सूचना प्रकाशित गरिएको उनले बताए । ‘लिची ब्लक एरिया घोषणा गर्नका लागि दुईहजार रोपनी जग्गामा लिची खेती गरेको हुनु पर्ने रहेछ’, उनले भने, ‘हामीले सबै लिची उत्पादक कृषकहरुलाई नाम दर्ताका लागि अनुरोध गरेका छौँ ।
अब केही समयभित्रै हामी पालुङ्टार नगरपालिकाका वडा नम्बर ६, ७ र ८ लाई लिची ब्लक एरिया घोषण गर्नेछौँ ।’ गत बर्ष तीन वटा वडाबाट कुल पाँच करोड रुपैँयाको लिची बिक्री गरेको बताउँदै उनले यसबर्ष उक्त उत्पादनमा बृद्धि गर्न आफुहरु लागि परेको बताए । ‘पोहोर हामीले पाँच करोडको लिची बिक्री गरेका थियौँ’, उनले भने, ‘यस बर्ष लिची उत्पादनमा बृद्धि गर्नका लागि कृषकहरुलाई थप विरुवा बितरण गर्नुका साथै आबश्यक आधुनिक उपकरण र तालिम प्रदान गर्नेछौँ ।’