गोरखाको धार्चे स्थित नौनीखोला क्यानोनिङको प्रशिक्षणका लागि उपयुक्त
गोरखा खबर


गोरखा ३, फागुन । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोला क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त भएको पाइएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा क्यानोनिङ एसोसियसनले गरेको अध्ययनले क्यानोनिङको प्रशिक्षण केन्द्रका लागि उपयुक्त भएको पाइएको हो ।
‘सडकको छेउमै छाँगो भएकाले पर्यटकलाई आउजाउमा पनि सजिलो पर्ने देखियो,’ समितिका अध्यक्ष साने गुरुङले भन्नुभयोे, ‘सुरुको एक सय मिटर क्षेत्र जोखिमपूर्ण रहेको र त्यसभन्दा तलको ७० मिटरमा क्यानोनिङ गर्न सकिने प्राबिधिकहरु बताउछन् ।’ छाँगोको ९० देखि १०० मिटर क्षेत्रमा ‘ट्रेनिङ’ चलाउन सकिने प्राबिधिकहरुको भनाई छ ।
यसका लागि बाटोसँगै केही पूर्वाधार भने बनाउनु पर्ने बताइएको छ । धार्चे क्षेत्रका २० प्रशिक्षार्थीलाई फागुन महिनामा क्यानोनिङका लागि तालिम दिन लागिएको गुरुङले जानकारी गुरुङले बताउनुभयो । ‘पानीको छाँगोबाट झर्ने काम यसै पनि गाह्रो छ,’ उहाँले बताउनुभयो, ‘स्थानीयलाई ट्रेनिङ दिन सके व्यावसायिक रूपमा क्यानोनिङ सुरु गर्न सजिलो हुन्छ ।’
नौलीखोलामा क्यानोनिङ फेस्टिवल र ट्रेनिङका लागि पर्यटन बोर्डले ९ लाख रुपैयाँ छुट्ट्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार मनास्लु पदमार्ग क्षेत्रमा मात्र ७४ वटा छाँगा रहेका छन् । सडक सञ्जालले पुराना पदमार्ग मेटिँदै जाँदा समितिले सडक नछोएका क्षेत्रलाई समेटेर १० पदमार्ग पहिचान गरेको छ ।
५ वर्ष लगाएर पदमार्ग पहिचान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सन् २०२१ अगावै नक्सांकन सक्ने लक्ष्य रहेको छ । मनकामना–सहिद लखन गाउँपालिका हुँदै गोरखा दरबारसम्म धार्मिक पर्यटन पदमार्गका रूपमा पहिचान गरिएको छ । गोरखा, घ्याम्पेसाल, सितगुफा, धार्चेडाडाँ, लाप्राक नयाँबस्ती हुँदै मनास्लु जोडिने पदमार्गको पनि पहिचान भएको छ ।
पहिचान भएका पदमार्गको अवस्था, थप गर्नुपर्ने संरचनासहितको प्रतिवेदन सम्बन्धित स्थानीय सरकार र प्रदेशको पर्यटन मन्त्रालयमा बुझाइने उहाँले बताउनुभयो ।